मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी र सुदूरपश्चिममा अत्यधिक वर्षाको सम्भावना, ६ जिल्ला उच्च जोखिममा
  • मार्गरेखा संवाददाता

  • आजदेखि आगामी तीन दिन अर्थात् भदौ २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिन  देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो ।

    लुम्बिनीदेखि सुदूरपश्चिमका भेगमा धेरै ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ महाशाखाले जनाएको छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ ।

    त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

    देशका विभिन्न ठाउँमा हाल पानी परिरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पनि सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीसहित भारी वर्षाको  सम्भावना छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । तर, हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणाली थप विकसित भई उत्तर-पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

  • २७ भाद्र २०८१, बिहीबार ०७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित