चट्याङ लागेर कञ्चनपुर र बाजुरामा तीन जनाकाे मृत्यु
मार्गरेखा संवाददाता
कञ्चनपुर असाेज ९ । कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ यसै गरि आजै चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।