मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्तमान “सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
  • मार्गरेखा संवाददाता

  • धनगढी, पुस ७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । 

    राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर सरकार बनेको उल्लेख गर्नुहुँदै उहाँले थप्नुभयो, “सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ । कुनै पनि हालतमा यो सरकार चल्नु पर्दछ ।”

    जे म्यान्डेट लिएर यो सरकार गठन भएको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्ने कोइरालाको जिकिर छ । उहाँले संविधान सुधारतर्फ सरकारले ध्यान दिन नसकिरहेको बताउनुभयो ।

    “यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो”, नेता कोइरालाले थप्नुभयो, “तर संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन । नेपाली कांग्रेस र नेकपा (एमाले) ले मात्र चाहेर संविधान संशोधन हुँदैन । यसका लागि अन्य दलहरुसँग छलफल गर्नु पर्दछ । त्यस्तो छलफल भएको देखिदैन ।”

    उहाँले मुलुकमा राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको भन्दै त्यसलाई नेपाली कांग्रेस र नेकपा (एमाले) सुधार गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले आगामी वर्ष हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि पार्टी कार्यकर्ता जुर्मुराउन थालेको उल्लेख गर्नुभयो ।

    पत्रकारले सोधेको जिज्ञासाको जवाफमा उहाँले सभापतिको उम्मेदवार बन्नका लागि विधानमा नै सबै कुरा स्पष्ट लेखिएकाले विधानको दायराभित्र पर्ने जो पनि पार्टीको सभापतिका उम्मेदबार बन्न सक्ने बताउनुभयो ।

    यसैगरी, एक छुट्टै प्रसङ्गमा नेता कोइरालाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटै सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने उल्लेख गर्नुभयो । “मेडिकल कलेज चलाउँदा सुरुमा केही अप्ठयारा आउँछन । किनभने, म पनि एउटा मेडिकल कलेज चलाएको मान्छे हो” उहाँले भन्नुभयो, “म यहाँ केही अप्ठ्यारा देख्दिन । यसलाई तत्कालै सञ्चालन गर्न सकिन्छ । त्यसको लागि म सक्दो पहल गर्छु ।”

  • ७ पुष २०८१, आईतवार १२:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित