नेपालगन्ज, पुस १० ।बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ । नेपालगन्जमा रंगशालामा आयोजना गरिने प्रतियोगिता माघ ५ गते देखि आयोजना गर्ने निर्णय भएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले माघ महिनामा जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिताको तयारी सुरु भैसकेको अध्यक्ष शाहीले बताउनु भयो । यस पटक महिला र पुरुष मेयर कप फुटबल प्रतियोगिता छुटा–छुटै मितिमा आयोजना गर्न लागिएको उहाँले बताउनु भयो ।
अध्यक्ष शाहीले भन्नु भयो,‘बाँके जिल्लाभरीको विद्यालयहरुको सहभागिता हुने भएकोले मेयर प्रतियोगितामा पुरुष र महिलाको फरक–फरक मितिमा गर्ने निर्णय गरेका छौं । यसले व्यवस्थापनमा पनि सहज हुने र प्रतियोगिताबाट प्रतिभावान खेलाडी छनोटमा सहयोग पुग्नेछ ।’
बाँके जिल्ला फुटबल संघले दुई दशक देखि आयोजना गर्दै आएको प्रतियोगिता हो मेयर कप । मेयर कप फुटबलमा बाँके जिल्लाका ८ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुको सहभागिता हुने गरेको छ ।
विद्यालय स्तरको प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने अध्यक्ष शाहीले बताउनु भयो । बाँके जिल्ला फुटबल विकासमा प्रतियोगिता महत्वपुर्ण भएको बताउँदै शाहीले भन्नु भयो,‘बाँके जिल्लाको लागि मेयर कप एउटा महत्वपुर्ण प्रतियोगिता हो । यसले विद्यालयस्तरका खेलाडीलाई प्रतिभा देखाउने अवसर प्रदान गर्छ । यस प्रतियोगिताबाट बाँके जिल्लाको विद्यालय स्तरको टिम पनि तयारी गरिने भएकोले मेयर कप हाम्रो लागि महत्वपुर्ण छ ।’
मेयर कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर अन्य जिल्लासँग मैत्रीपुर्ण खेल खेल्ने संघको योजना रहेको छ । गत वर्ष बाँके जिल्लामा भएको मेयर कपको उत्कृष्ट खेलाडीहरुले कैलालीसँग मैत्रीपुर्ण खेल खेलेको थियो । मेयर कप फुटबल प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने संघले अनुमान गरेको अध्यक्ष शाहीले बताउनु भयो ।