मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

८३ कराेडकाे लागतमा गुलरिया नगरपालिकाले ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्न सुरू
  • मार्गरेखा संवाददाता

  • गुलरिया (बर्दिया), १६ पुस : बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्न थालिएको छ । बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी नहर सदरमुकामसम्म पुर्‍याउने आयोजनाको लक्ष्य छ । गुलरिया नगरपालिका–१ र ३ को सिमाना निमकोठियाबाट चार किलोमिटर लामो नहर निर्माण गर्न लागिएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द देवकोटाले बताउनुभयो । विसं २०४५ देखि सुरू भएको सो आयोजनाले २०८३ सालसम्म बर्दियाका ६ पालिकाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर भूमि सिँचाइ गर्न आज नहर शिलान्यास गरिएको छ । गुलरियाका किसान आकासेपानीको भरमा खेती गर्नुपर्ने पीडाबाट अबको तीन वर्षपछि मुक्त हुने प्रमुख देवकोटाले बताउनुभयो । “किसानले लगाएको बालीबाट अब कम खर्चमा उब्जनी बढ्ने छ”, उहाँले भन्नुभयो । सदरमुकाम गुलरियासम्म पुर्‍याउने मूलनहर चार किलोमिटर र शाखा नहर ११ किलोमिटर निर्माण गर्न रु ८३ करोड बजेट छ । नगरक्षेत्रमा नहर निर्माण हुने भएपछि गुलरियाका किसान खुसी भएका छन् । नदीको पानी खेतखेतमा पुगेपछि पर्याप्त उब्जनी हुने र सिँचाइमा हुने लगानी घट्ने गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव बताउनुहुन्छ । नहर शिलान्यास गर्दै उहाँले पानीको उचित व्यवस्थापन गर्न आयोजनासँग आग्रह गर्नुभयो । यसअघि सिँचाइ सुविधा नहुँदा गुलरियाका किसान महँगो शुल्क तिरेर सिँचाइ गर्दै आएका थिए । बबई सिँचाइ आयोजनाले ३४ किलोमिटर पूर्वी मूल नहर र ४१ किलोमिटर पश्चिमी नहर निर्माण गर्ने लक्ष्य लिएको छ ।

  • १६ पुष २०८१, मंगलवार २०:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित