नेपालगन्ज भदाै २७ । ‘राष्ट्र जोगाऔँ–संविधान जोगाऔँ’ भन्ने प्लेकार्डसहित नेपाल पत्रकार महासङ्घ बाँके र नेपाल बार एसोसिएसनको अगुवाइ एवम् शान्ति र लोकतन्त्रका लागि पेशागत सङ्गठन (पापड) सहितको आयोजनामा आज नेपालगञ्जमा मौन प्रदर्शन गरिएको हो । केन्द्रीय सर्कुलर अनुसार संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले जानकारी दिनुभयो ।
जेनजीको आन्दोलन र त्यसपछिका विकसित घटनाक्रमले ७ दशक लामो जनताको बलिदानबाट प्राप्त उपलब्धि गुम्ने जोखिम बढेको भन्दै पापडले प्राप्त उपलब्धिको रक्षाका लागि मौन प्रदर्शन गरेको नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष चित्र बहादुर शाहीले बताउनुभयो ।
मौन प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईं, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहर सिंह खत्री, प्राध्यापक संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ बाँकेका उपाध्यक्ष शेखर रावत, प्याव्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल चिकित्सक संघका सदस्य डा. राहुल कुर्मी, वरिष्ठ अधिवक्ता विजय गुप्तासहित अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।










