काठमाडौ कात्तिक १६ । देशका आठ वामपन्थी दलबीच पार्टी एकताको सहमति भएको छ । पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने उद्देश्यसहित संयुक्त रूपमा नयाँ कम्युनिस्ट पार्टी बनाउने सहमति भएकाे हो ।
सहमतिअनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकीकरणका लागि १९ कात्तिकमा ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गरिने भएको छ । सो सम्मेलनले पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गरी केन्द्रीय समिति गठन गर्नेछ ।
सहमति पत्रमा उल्लेख भएअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने नीति तय गरिएको छ ।
आन्दोलनको स्वरूप मुख्यतः शान्तिपूर्ण हुने जनाइएको छ । आवश्यकताअनुसार सडक, सदन र सरकार सबैलाई आन्दोलनका मोर्चा बनाइनेछ ।
सहमतिअनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ । केन्द्रीय संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहनेछन् । साथै, प्रत्येक तहमा संयोजक र सह–संयोजकको व्यवस्था गरिनेछ ।
सहमति पत्रमा राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज तयार गर्न छुट्टै कार्यदल गठन गर्ने, संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल बनाउने र आगामी छ महिनाभित्र ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने उल्लेख छ ।
सहमतिपत्रमानेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, जनसमाजवादी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी–समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी)का अध्यक्ष चिरञ्जी पुनले हस्ताक्षर गरेका छन् ।










