नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद विघटन असंवैधानिक रहेको निर्णय पार्टीबाट गराउनका लागि हस्ताक्षर अभियान चलाएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।
सोही निर्णयका साथै असंवैधानिक हो भने न्यायिक लडाइँ लड्न पनि पार्टीको जारी केन्द्रीय समिति बैठकबाट निर्णय होस् भन्नका लागि हस्ताक्षर अभियान चलाइएको कांग्रेस नेता श्याम घिमिरेले जानकारी दिए ।
‘नेपाली कांग्रेसले संसद पुनर्स्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारेमा अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसले सरकारको गठन र यो विघटनचाहिँ असंवैधानिक र अलोकतान्त्रिक हो मात्रै भनेको छ । असंवैधानिक र अलोकतान्त्रिक होचाहिँ भन्यो, त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय गरेको छैन,’ ‘त्यस कारण असंवैधानिक र अलोकतान्त्रिक हो भने यसका विरुद्ध न्यायालयको ढोका ढकढक्याउन पार्टी किन नजाने भनेर हामीले हस्ताक्षर अभियान सुरुवात गरेका हौँ ।’
गत २३ र २४ भदौको जेन–जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संकट टार्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए र उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । सोही सिफारिसबमोजिम आगामी २१ फागुनमा नयाँ चुनाव हुने गरी संसद विघटन गरिएको थियो ।










