हङकङविरुद्ध १ सय २० रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल समूह ‘ए’ को विजेता बन्यो । पहिलो खेलमा नेपालले साउदी अरेबियालाई आठ विकेटले हराएको थियो ।
बिहीबार यूएईको अज्मनस्थित सेभेन ड्रिस्टिट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमै समेटियो । हङकङका लागि कप्तान शिव माथुरले ३०, जुडे लीले २२, अब्दुल समाद खानले १९, रियान्श शर्माले १८, आरेज दारले १५ र अफ्ताब हुसैनले १० रन बनाए ।
नेपालका लागि अपराजित पौडेलले चार, कप्तान अशोक धामीले तीन तथा दयानन्द यादव, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ७० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि अशोक धामीले ५१ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी दर्श सोनारले अविजित ४५, दिलसद अलीले ३२, सिब्रिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन बनाए ।
हङकङका लागि ड्यानियल माप र अभिमन्यु गणेसनले दुई दुई तथा प्रीत मन्जुकिया र अफ्ताब हुसैनले एक–एक विकेट लिए ।