९ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको हो। कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोहमा वैदिक विधिअनुसार स्वस्ति वाचन सहित दिप प्रज्वलन गरिएको थियो।
पौष १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। प्रतिकूल मौसमका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य संघको विशेष आग्रहमा आफू लगायत महासंघका केन्द्रीय पदाधिकारीहरू कोहलपुर आएको उल्लेख गर्दै ढकालले महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताउनुभयो। देशव्यापी रूपमा सञ्चालन हुने मेला–महोत्सवहरूले सम्बन्धित क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो।
कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पूर्व संघीय मन्त्री महेश्वर गहतराज ९अथक० ले कोहलपुर महोत्सव कोहलपुरका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपालि कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे ।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याएका थिए ।
‘भिजिट बाँके नेशनल पार्क-२०२६’ को शुभारम्भ
कोहलपुर महोत्सवको अवसर पारेर ‘बाँके नेशनल पार्क-२०२६’ अभियानको समेत औपचारिक शुभारम्भ गरिएको छ। महोत्सवका प्रमुख अतिथि चन्द्र प्रसाद ढकाल, विशिष्ट अतिथि महेश्वर गहतराज (अथक) तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले संयुक्त रूपमा अभियानको शुभारम्भ गर्नुभएको हो। उद्घाटन समारोहका क्रममा अभियानसम्बन्धी ब्यानर सार्वजनिक गरिएको थियो। यस घोषणाले बाँके जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।
महोत्सव उद्घाटन समारोहअघि कोहलपुर क्षेत्रमा विभिन्न मौलिक संस्कृतिलाई झल्काउने झाँकी प्रदर्शन तथा सांस्कृतिक र्याली आयोजना गरिएको थियो। कोहलपुर चौराहाबाट सुरु भएको झाँकीसहितको र्यालीमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वि.सं. २०६५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकले विश्वास लिएको छ ।
महोत्सवमा कुल ३०० वटा स्टल राखिएका छन्। जसअन्तर्गत २५० व्यावसायिक, २२ होटल, १५ प्रवर्द्धनात्मक, १० विषयगत प्रदर्शनी स्टल तथा थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको छ। साथै, महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि तथा विज्ञान प्रदर्शनी, जलपरी लगायतका विशेष कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सव अवलोकनका लागि सामान्य टिकट रु. १०० र सहुलियत टिकट रु. ८० निर्धारण गरिएको छ। शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। सञ्चारकर्मीहरूलाई प्रेस कार्डका आधारमा प्रवेश दिइनेछ।
दर्शक सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामेरा निगरानी, प्रशिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्ष, आगलागी नियन्त्रण उपकरण, ट्राफिक तथा पार्किङ व्यवस्थापनसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको आयोजक समितिले जनाएको छ।










