मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भाद्र २३–२४ को घटनामा बल प्रयोगको आदेश नदिएको पूर्व गृहमन्त्री लेखक
  • मार्गरेखा संवाददाता

  • काठमाडौं पुस १४  । भाद्र २३ र २४ गते भएका हिंसात्मक घटनाका सम्बन्धमा पूर्व गृहमन्त्री रमेश लेखकले आफूबाट कुनै पनि प्रकारको बल प्रयोगको आदेश नदिइएको स्पष्ट पार्नुभएको छ। भाद्र २३–२४ को घटना सम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत लिखित धारणा र भनाइमा उहाँले शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न मात्र निर्देशन दिएको र कुनै पनि हालतमा क्याजल्टी नहोस् भन्नेमा जोड दिएको उल्लेख गर्नुभएको हो।
    पूर्व गृहमन्त्री लेखकका अनुसार भदौ २२ गते साँझ आफू अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। उक्त बैठकमा गृहसचिव, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको र सबै निकायबीच समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभएको छ। बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय नभएको लेखकको दाबी छ।
    जेन–जी समूहले भदौ २३ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई हिंसात्मक रुप लिएको उल्लेख गर्दै लेखकले लोकतन्त्रविरोधी तत्वहरूले प्रदर्शनलाई हाइज्याक गरेको बताउनुभएको छ। घटनामा युवाहरूको ज्यान गएको विषय आफूलाई गहिरो पीडा भएको भन्दै उहाँले त्यसको नैतिक जिम्मेवारी लिँदै तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको स्मरण गराउनुभएको छ।
    लेखकले गृहमन्त्रीलाई कानुनले बल प्रयोगको आदेश दिने अधिकार नदिएको स्पष्ट गर्दै प्रदर्शन नियन्त्रण, बल प्रयोगको मात्रा र प्रकृति तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा सुरक्षा निकाय र स्थानीय प्रशासनले निर्णय गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभएको छ।
    भदौ २४ गते देशभर भएका आगजनी, तोडफोड तथा राज्यका प्रमुख संरचनामाथिको आक्रमणलाई लेखकले सुनियोजित षड्यन्त्रको संज्ञा दिनुभएको छ। उहाँका अनुसार ती घटना जेन–जी पुस्ताको मूल मागभन्दा बाहिरका थिए र राष्ट्र तथा लोकतन्त्रविरुद्ध लक्षित थिए।
    अन्त्यमा पूर्व गृहमन्त्री लेखकले आयोगसँग निष्पक्ष र पूर्वाग्रहरहित छानबिन गरी घटनाको सत्य तथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।

  • १४ पुष २०८२, सोमबार १५:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित