पाेखरा माघ ८ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित जिल्ला समन्वय समितिको प्रमुखलाई नियुक्त गरेको छ । समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले गत वर्ष जारी गरेको अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० अनुसार नयाँ समितिहरू गठन भएका हुन् । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए । मुस्ताङ, तनहुँ र बागलुङमा जिसस प्रमुखको अध्यक्षतामा समिति गठन भइसकेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । “नयाँ गठन आदेशअनुसार बनेका समितिले अस्पताल सुधारमा तटस्थ र प्रभावकारी ढङ्गले काम गर्नेछन्”, उहाँले भन्नुभयो, “यसले राजनीतिक आधारमा हुने नियुक्तिको प्रक्रियालाई ताडेको छ ।” पुरानो समितिको कार्यकाल सकिनासाथ प्रदेश सरकार मातहतका अन्य अस्पतालहरूको व्यवस्थापन समिति पनि नयाँ प्रावधानअनुसार गठन हुने मन्त्री पाठकले बताउनुभयो ।
नवगठित समितिमा जिसस प्रमुखको अध्यक्षतामा सात सदस्य रहने व्यवस्था छ । समितिको सदस्यमा अस्पताल रहेको सम्बन्धित स्थानीय तहको प्रमुख÷अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष तथा लेखा नियन्त्रक, उद्योग वाणिज्य सङ्घको अध्यक्ष र सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण एक महिला रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहने छन् । अस्पताल व्यवस्थापन समितिलाई चुस्त र प्रभावकारी बनाउन संरचनागत सुधार थालिएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डन्टलगायत सरोकार भएका पक्षको सुझावका आधारमा प्रदेश सरकारले नयाँ गठन आदेश जारी गरेको थियो । यसअघि गठित कतिपय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रममा देखिएको असहजताले समितिको बैठक बस्नसमेत नसक्ने स्थिति देखिएको थियो । जिसस प्रमुख अस्पतालको अध्यक्ष हुँदा जिल्लाका अरू निकायसँग समन्वय गर्न पनि सहज हुने र मर्यादाक्रमको समस्या पनि हट्ने जनाइएको छ ।
अस्पताल व्यवस्थापन समितिमा अहिले रहेका पदाधिकारी÷सदस्यलाई लक्षित गरेर नभई अस्पतालको दीर्घकालीन हित गरेर सरकारले समिति गठनको नयाँ प्रावधान ल्याएको मन्त्री पाठकले बताउनुभयो । प्रदेश सरकारअन्तर्गतका अस्पतालबाट प्रवाह हुने सेवाको व्यवस्थापन तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन समिति गठन हुने सो आदेशमा उल्लेख छ । गण्डकी प्रदेश विकास समिति ऐन, २०७७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर सरकारले गठन आदेश जारी गरेको थियो । सोही गठन आदेशअनुसार बनेको बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले मङ्गलबार पदभार ग्रहण गरेका छन् । नवगठित समितिका अध्यक्ष एवं जिसस प्रमुख अम्मरबहादुर थापाले अस्पतालको सेवा विस्तारलगायत व्यवस्थापकीय पक्षमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । समितिको सदस्यमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेललगायत रहनुभएको छ । उक्त पदस्थापन कार्यक्रममा मन्त्री पाठकले एउटै जिल्लामा एकभन्दा धेरै अस्पताल रहेको खण्डमा छुट्टै गठन आदेशबाट समिति बन्ने बताउनुभयो ।