नेपालगन्ज, फागुन १८ ।लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाक ५ देखि १५ गते सम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केहि पछी सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं। मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’
प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको उहाँले बताउनु भयो । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टिम सहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल संघले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । बाँकेको महिला फुटबल टिमले धम्बोझी स्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । फुटबल प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराईरहनु भएको छ ।
यसैगरी नेपालगन्ज रंगशालाको मैदानमा घास उर्माने कार्य पनि भैरहेको छ । प्रतियोगिता अवधि सम्म मैदानलाई पनि राम्रो बन्ने आयोजकले बताएको छ ।
आइतबार भएको पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, प्रतियोगिताको प्रचार-प्रसार उपसमिति संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उप-समिति संयोजक तेजबिक्रम शाहले प्रतियोगितालाई ऐतिहासिक बनाउने लक्ष्य सहित काम गरिरहेको बताउनु भएको थियो ।