काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ ।
शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।
उनको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो
ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए ।
समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।
यसअघि महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो । अध्ययन टोलीको प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन् ।
यसअघि फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा सिनामंगल-गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रूपैयाँ जरिवाना तिराएको थियो ।