सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत आज र भाेली (शनिबार र आइतबार) देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने छ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकालाई बालभिटा पनि वितरण गरिने र कुपोषणको परीक्षणसमेत गरिनेछ।
स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रियता
कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।
कार्यक्रमको इतिहास
- भिटामिन ‘ए’ कार्यक्रम सन् १९९३ (विक्रम संवत २०५०) मा आठ जिल्लाबाट सुरु भई सन् २००२ (वि.सं. २०५९) देखि देशभर लागू गरिएको हो।
- जुका औषधि वितरण कार्यक्रम सन् १९९९ (वि.सं. २०५६) मा १३ जिल्लाबाट सुरु भई सन् २०१० (वि.सं. २०६७) मा राष्ट्रिय स्तरमा विस्तार गरिएको हो।
- बालभिटा वितरण कार्यक्रम सन् २००७ (वि.सं. २०६४) देखि सुरु गरिएको हो।
सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।
बालबालिकाको स्वास्थ्यका लागि भिटामिन ‘ए’ र जुकाको औषधि किन आवश्यक छ?
नेपालमा अझै पनि कुपोषण बालबालिकाको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। कुपोषणले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पार्दछ। बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने यसको दीर्घकालीन प्रभाव जीवनभर रहन सक्छ। यिनै समस्याहरू न्यूनीकरण गर्न सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
भिटामिन ‘ए’ किन आवश्यक छ?
- आँखा स्वस्थ राख्न मद्दत गर्छ ।
- रातमा देख्न सक्ने क्षमता (रतन्धो) बढाउँछ ।
- संक्रमणविरुद्ध लड्न शरीरलाई शक्ति दिन्छ ।
- भिटामिन ‘ए’ को कमीले आँखामा घाउ, दृष्टि गुम्ने समस्या देखिन्छ ।
- सरकारी तथ्याङ्क अनुसार, नेपालमा प्रत्येक दिन एक जना बालबालिका अन्धो हुने गरेका छन् ।
जुकाले कसरी असर गर्छ?
- सरसफाइको अभावले जुका लाग्ने गर्छ ।
- जुकाले आन्द्रामा घाउ बनाउँछ र पोषक तत्त्व चुस्छ ।
- यसले बालबालिकालाई बिस्तारै कुपोषित बनाउँछ ।
- शारीरिक कमजोरी र सिकाइ क्षमतामा असर पुग्छ ।