मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विकासका उपलब्धिहरू संघीयताको परिणाम हुन् : मुख्यमन्त्री आचार्य
  • मार्गरेखा संवाददाता

  • पाल्पा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता लागू भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रूपमा लिनुपर्ने बताउनु भएको छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संघीयता लागू भएपछि प्राप्त भएका उपलब्धिहरूलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको हाे ।

    `संघीयता लागू भएपछि के भयो ? उपलब्धिहरूको चर्चा गर्न जरुरी छ । सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो । प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौँ” उहाँले भन्नुभयो-`२०७४ सालअघि के थियो, त्यसपछि के भयो तुलना गरौँ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ ।´

    स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको र अब सेवाको प्रभावकारिताका लागि ध्यान दिने उहाँले बताउनुभयो । `अस्पतालहरू बनेका छन् । अब सेवालाई बढाउन जरुरी छ´उहाँले भन्नुभयो-`सेवा प्रवाहलाई चुस्त बनाउने योजना प्रदेश सरकारसँग छ ।´ महत्त्वपूर्ण र उपलब्धि देखिने योजनाहरूलाई बहुवर्षीय योजनामा समावेश गर्दै सरकार अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा शुद्ध खानेपानीको पहुँच सबै नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्याउँदै ‘एक घर एक धारा’ अभियानकै कारण १५ लाख घरधुरीमा खानेपानीको धारा पुगेको जानकारी दिनुभयो । अधुरा रहेका खानेपानीका योजनाहरू पूरा गर्दै प्रदेशका सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने योजना रहेको उल्लेख गर्नुभयो ।

    त्यस्तै, मुख्यमन्त्री आचार्यले सामाजिक संघ संस्थामा राजनीतिक विचारको लडाइँ आवश्यक नरहेको स्पष्ट पार्नुभयो । `संघसंस्थामा कुनै जुंगाको लडाइँ लड्नु छैन । राजनीतिक गन्ध नआउनेगरी सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न जरुरी छ´ उहाँले भन्नुभयो, `जनताको निम्ति, सेवाको भावना भएका व्यक्तिलाई नेतृत्वमा पठाउन प्रेरित गर्न जरुरी छ ।´

    विकासका लागि एउटै पार्टी बन्न आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभयो । `विकासका निम्ति तपाईंहरू एउटै पार्टी बन्नुस् । कुनै पनि संघसंस्थामा पार्टीको विचार बोकेर, जुंगाको लडाइँ लडेर जानुपर्छ भन्ने छैन´ उहाँले भन्नुभयो, `विकासको ठाउँमा तपाईंहरू एक ठाउँमा उभिन सक्नुपर्छ । जहाँ विकासको नाममा एक ठाउँमा उभिन सक्नु भएको छ, त्यहाँ विकासले फड्को मारेको छ ।´

  • १२ बैशाख २०८२, शुक्रबार १४:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित