गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
मार्गरेखा संवाददाता
काठमाडौँ, ६ जेठः नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।” उहाँले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।