काठमाडौँ —गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु अन्याय भएको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध कहीँ कतै उजुरी नपरेको र छानबिन पनि नभएकाले राजीनामा दिनुनपर्ने बताएका हुन् ।
‘विभिन्न समयमा सञ्चार माध्यमहरूमा समाचार आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अभियोजन भएको अवस्तामा समेत तत्कालीन नेतृत्वबाट पदत्याग गरेको अवस्था छैन । म यो भन्दा बढी बोल्न चाहन्न । कुनै पनि आदरणीय नेताको नाम लिन चाहन्नँ । कसैप्रति मैले आग्रह पूर्वाग्रह राख्नु छैन,’ गृहमन्त्री लेखकले भने ।
साथै आफूमाथि अन्याय भएको भन्दै लेखकले पत्रकार सम्मेलनमार्फत न्यायसमेत मागेका छन् । ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ! कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविद्ध कुनै उजुरी छ ? मेराविरुद्ध कहीँनेर छानबिन भइरहेको छ ? तर मैले न्याय त माग्न पाउन पर्ला नि !,’ उनले भने । यसअघि समाचार र छानबिन हुँदा धेरै मन्त्रीहरूले राजीनामा नदिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अगाडि भने, ‘यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीमाथि भइराखेको अनुसन्धानलाई राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी यो सम्भव होला ? मैले दोषारोपण गरेको होइन । मैले आग्रह पूर्वाग्रह राखेको पनि छैन । कतिपय विषयमा माननीय गृहमन्त्रीहरूको संलग्नताका बारेमा समाचारहरू आइरहेको कुरा मैले राखे । अहिले त संवैधानिक आयोग र प्रहरीले अनुसन्धान गरिरहेका विषय छन् ? के माननीय गृहमन्त्रीहरूले राजीनामा दिनुभयो ?’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् । बुधबार बिहान ११ बजेका लागि बोलाइए पनि विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुरामा अडान कायम राखेका थिए ।
मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । बिहीबार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिपक्षी दलहरूमाओवादी र रास्वपाले भने बजेट प्रस्तुत गर्ने कार्यक्रमलाई अवरोध नगर्ने जनाएका छन् ।