नेपालगञ्ज, १५ जेठ । नेपाली काँग्रेस, बाँके र नेपाल स्वास्थ्यकर्मी संघको आयोजनामा नेपालगञ्जमा संयुक्तरुपमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
१८औं गणतन्त्र दिवस एवम् नेपाल स्वास्थ्यकर्मी संघको ३४औं स्थापना दिवसका अवसरमा आज बिहान नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको बाँके रेडक्रसको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठले रक्तसंचार केन्द्रका प्राविधिकलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गर्नुभएको थियो ।
त्यस अवसरमा केन्द्रीय सदस्य बाल्मिकीले जनताको ठूलो बलिदानवाट प्राप्त गणतन्त्रलाई कसैको लहडमा कदापी खोस्न दिने छैनौ भन्नुभयो । केन्द्रीय सदस्य बाल्मिकीले लोकतन्त्रका लागि नेपाली काँग्रेस हदैसम्म लचिलो छ भने लोकतन्त्रका विरोधविरुद्ध हदैसम्म कठोर बन्नसमेत पछि पर्दैन भन्नुभयो ।
नेपाली काँग्रेस, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका पहिलो जननिर्वाचिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति जननायक स्वर्गीय विपी कोइराला र नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री संविधानका पिता स्वर्गीय सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बस्नेत, सहसचिव रेनुसिंह ठाकुर, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्तालगायत ठूलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
रक्तसंचार केन्द्रका प्रमुख उपेन्द रेग्मीका अनुसार, अहिलेसम्म नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीसहित काँग्रेसका अन्य नेता तथा कार्यकर्ता र आमनागरिक गरी ४२ जनाले रक्तदान गरिसकेका छन् । रक्तदान कार्यक्रम दिउसो तीन बजेसम्म चल्ने जनाइएको छ ।
२०८२÷२÷१५