डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराइएको छ ।
पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, विस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्यागसहितको शैक्षिक सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले दुबै आश्रममा पुगेर उक्त सामाग्री हस्तान्तरण गर्नुभयो ।
सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढ्नमा सहयोग पुग्ने उद्देश्यले सामाग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आश्रममा रहेका बृद्धहरुको अवस्था निकै दयनिय तथा दुःखदायी अवस्था रहेकाले मानव सेवाको भावनाले उहाँहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै पालिकाले आश्रमलाई आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
अध्यक्ष चौधरीले निल सागर सेवा आश्रमद्धारा निमार्णाधिन भवनमा एक कोठे भवन बनाउने र केही पंखा लगायतका सामाग्री थप सहयोग गर्ने घोषणा गर्नुभयो । पालिकाले यस वर्ष गणतन्त्र दिवसलाई तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाएको छ ।