नेपालगन्ज, २३ जेठ । नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूमा एक हप्ताको लागि ग्रीष्मकालीन बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार, २०८२ जेठ ३० गते शुक्रबारदेखि लागू हुने गरी एक हप्ताको लागि सम्पूर्ण विद्यालय (सामुदायिक, संस्थागत तथा धार्मिक) बन्द रहनेछ।
स्मरणीय छ, पछिल्लो केही दिनयता नेपालगन्ज क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ, जसका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्थिति देखिएको छ। यसलाई ध्यानमा राख्दै नगरपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिएको हो।
सूचनामा भनिएको छ, “नेपालगन्ज क्षेत्रमा भैरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले २०८२/०२/३० गते शुक्रबारदेखि एक हप्ताका लागि ग्रीष्म बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ।”
यस निर्णयले बालबालिकाको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सबै विद्यालयलाई यो सूचना कार्यान्वयन गर्न आग्रह गरेको छ।