मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डोटीमा जिप दुर्घटना हुँदा गर्भवती महिलासहित तीनको मृत्यु
  • मार्गरेखा संवाददाता

  • डाेटी असार ६ । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

    शुक्रबार दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ।

    दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो।

    प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ। दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए।

    घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    जिप सडकबाट करिब २५० मिटर तल खसेको छ।

  • ६ असार २०८२, शुक्रबार २१:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित