रसुवा असार २४ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका १२ नेपालीसहित १८ जनाकै परिचय खुलेको छ ।
मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जनाकै परिचय खुलेको हो ।
बाढीमा परेर इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ का प्रहरी सहायक निरीक्षक ४२ वर्षीय लालबहादुर श्रेष्ठ, ४२ वर्ष, प्रहरी जवान बाराको फेटा गाउँपालिका-१ का २४ वर्षीय मुन्ना ठाकुर र बझाङ बुंगल नगरपालिका-९ का २३ वर्षीय लोकेन्द्र बोहोरा छन् ।
यसैगरी, बर्दियाका ३६ वर्षीय जिपन चौधरी, बागलुङका नरेन्द्र विक, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु, ३० वर्षीय सुरेश थारु, सिन्धुपाल्चोका कन्टेनर डिब्बा चालक फुर्वा लामा, मिक्सर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्ता भएका छन् ।
यस्तै, बाढीमा चिनियाँ नागरिकहरू यू युए, ली हुआछिङ, याङ छ्वान, यु हाइ हाङ, योउ सियाओ छिउ र जोउ योङ पनि बेपत्ता भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार रसुवाको उत्तरगया गाउँपालिका-५, उत्तरगयाधामको खोला किनारमा एक जना पुरुषको दाहिने खुट्टा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरिएको छ । बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ । पुल बगाउँदा नेपाल-चीन सम्पर्क पनि टुटेको छ ।
बाढीले भन्सार जाँचपासका लागि सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) राखिएका ईभी गाडीहरू पनि बगाएको छ । यस्तै, बाढीले रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुर्याएको छ ।