कोहलपुर, साउन २ – कोहलपुर नगरपालिकाले ‘आमा सुरक्षा कार्यक्रम’को सम्झौता म्याद सकिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालसँग सम्झौता नवीकरण नगर्ने निर्णय लिएको छ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उप–प्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी , कोहलपुर विभिन्न वडाका अध्यक्ष लगाय दर्जनौं सञ्चारकर्मीहरूको सहभागितामा आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिका प्रशासनले उक्त निर्णयको जानकारी गराउँदै, मेडिकल कलेजको लापरवाही, दायित्वहीनता र नागरिक–विरोधी व्यवहारको कडा आलोचना गरेको हो।
पत्रकार सम्मेलनमा नगर प्रमुख आचार्यले भने, “संविधानले दिएको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने कार्य हाम्रो पहिलो दायित्व हो। तर मेडिकल कलेजले बारम्बार सम्झौता उल्लङ्घन गर्दै, सामाजिक उत्तरदायित्वबाट पन्छिन खोजिरहेको छ। त्यसैले कोहलपुर नगरपालिकाले अब आमा सुरक्षा कार्यक्रम आफ्नै अस्पतालमार्फत निरन्तर सेवा दिने निर्णय गरेको प्रेस बिज्ञपति मार्फत बताएका छन।”
नगर प्रमुख आचार्यले बिज्ञप्तिमा उल्लेख गरे मेडिकल कलेजसँग गरिएको आमा सुरक्षा सम्बन्धी सम्झौता आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि गरिएको थियो, जुन मिति २०८२ असार मसान्तमा समाप्त भएको निर्देशनअनुसार कम्तिमा तीन महिना अगावै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामा नवीकरणका लागि आवश्यक दस्तावेजसहित निवेदन दिनुपर्ने भए पनि, मेडिकल कलेजले मिति २०८२ असार १३ गते मात्र कोहलपुर नगरपालिकालाई पत्र पठाएको थियो। “सम्झौताको म्याद सकिनुअघि कुनै पहल नगरी, उल्टै असार ३२ गते सार्वजनिक सूचना निकालेर प्रसूति सेवा स्थगन गर्नु अत्यन्तै गैरजिम्मेवार र अपमानजनक व्यवहार हो। नागरिकप्रतिको यस्तो दृष्टिकोण कुनै पनि हालतमा स्वीकार्य छैन।”
नगरपालिकाको विज्ञप्तिमा जनाइएअनुसार, मेडिकल कलेजले सरकारी सहुलियतमा पाएको १० बिघा जग्गा र ४९ वर्षका लागि सम्झौता गरिएको थप जग्गा उपयोग गर्दै आएको छ। सम्झौताअनुसार बिरामीहरूलाई सहुलियत दरमा सेवा दिनुपर्ने र १० प्रतिशत शैयामा निःशुल्क सेवा दिनुपर्ने व्यवस्था हुँदाहुँदै समेत, अस्पतालले त्यो पालना नगरेको उल्लेख गरिएको छ। नगर प्रमुख आचार्यका अनुसार बिज्ञप्तिमा भनिएको छ, “अस्पतालले शल्यक्रिया, प्रयोगशाला, र विभिन्न जाँचमा २० देखि ३०० प्रतिशतसम्म शुल्क वृद्धि गरेको छ, जसको सबैभन्दा ठूलो मार विपन्न नागरिकले खेपिरहेका छन्।
जनस्वास्थ्य ऐन २०७५ अनुसारको फोहोर व्यवस्थापन नगरेको, इमर्जेन्सी सेवा अन्तर्गत समेत शुल्क लिएको, र श्रमिक ऐनको समेत अवज्ञा गरेको गुनासो नगरपालिकामा लगातार आइरहेको छ।” विपन्न नागरिक, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा श्रमिक वर्गका लागि सरकारले तोकेको निःशुल्क औषधोपचार कार्यक्रम, बीमा योजना, र अन्य सामाजिक सेवा इकाइ कार्यान्वयनमा समेत मेडिकल कलेज उदासिन देखिएको नगरपालिकाको आरोप छ। त्यसैगरी, स्थानीय सरकारसँग संवाद नगरी, उल्टै सार्वजनिक रूपमा अपमानजनक अभिव्यक्ति दिने प्रवृत्तिप्रति पनि नगरपालिका प्रशासनले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकार केही होइन भन्ने अभिव्यक्ति दिने, स्थानीय सरकारको हैसियत कमजोर देखाउने र सम्झौता मिच्दै उल्टै धम्कीपूर्ण शैलीमा व्यवहार गर्ने कार्य लोकतान्त्रिक शासनको मर्मविपरीत हो।”
पत्रकार सम्मेलनमा आचार्यले भने, “हामीले पटक–पटक सहकार्यको प्रस्ताव गर्दा समेत बेवास्ता गरियो। अहिले परिस्थिति स्पष्ट छ – नागरिकप्रति जवाफदेही नहुने संस्थासँग अब हामी सहकार्य गर्न सक्दैनौं।” अबदेखि आमा सुरक्षा कार्यक्रम कोहलपुर नगरपालिका–११ स्थित नगर अस्पताल र वडा नं. १५ स्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र, अकलगडुवाबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने निर्णय गरिएको छ। यस निर्णयअनुसार, सुरक्षित प्रसूति सेवा, नवजात शिशुको हेरचाह, र आर्थिक रूपमा कमजोर वर्गका गर्भवती महिलाहरूलाई सरकारले दिँदै आएको सेवा अब नगर अस्पतालबाट सहज रूपमा प्राप्त गर्न सकिनेछ।
कोहलपुर नगरपालिका भित्र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको स्थापनामा जनताको योगदान अतुलनीय रहेको उल्लेख गर्दै, नगर प्रमुख आचार्यले भने, “सामाजिक भावनामा निर्मित संस्थाले नागरिकलाई दुःख दिन मिल्दैन। हामी निजी लगानीको सम्मान गर्छौं, तर संवैधानिक दायित्वको पालना नगर्ने, ऐन कानुनको उल्लङ्घन गर्ने र नागरिक अपमान गर्ने संस्थालाई अब प्रोत्साहन गर्ने वातावरण छैन।”
अन्तमा नगरपालिकाले नागरिकहरूलाई नगर अस्पताल र स्वास्थ्य केन्द्रमा २४ घण्टा सुरक्षित सेवा उपलब्ध हुने जानकारी दिँदै, आमा सुरक्षा कार्यक्रम अन्तर्गत सबै सेवाहरू पूर्ववत् निरन्तर सञ्चालन गरिने प्रस्ट पारेको छ।