मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको हातबाट ४८ वर्षअघि बुवाले किनिदिएको जमिनको लालपूर्जा पाउदा हर्षका आँसु
  • मार्गरेखा संवाददाता

  • सुर्खेत साउन २ ।  जग्गाको पूर्जा नपाएरै मरिन्छ कि जस्तो लागेको थियो,” ८३ वर्षीय धनबहादुर सार्कीको आँखामा शुक्रवार हर्षका आँसु झरिरहेका थिए, जब नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको हातबाट ४८ वर्षअघि बुवाले किनिदिएको जमिनको लालपूर्जा प्राप्त गरे।
    धनबहादुर २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका थिए। उनका बुवाले छ हजार रुपैयाँमा १७ रोपनी ऐलानी जमिन खरिद गरे। त्यसबेलादेखि खनजोत गर्दै आए पनि पूर्जाविहीन बसाइँले तिनको जीवन अधुरो थियो। “जग्गा त थियो, तर पूर्जा थिएन,” उनले भावुक हुँदै भने, “आज बल्ल लाग्यो, मैले जोतेको जमिन साँच्चिकै मेरै हो।”
    धनबहादुर मात्र होइनन्, मभअबमभक पुराना पीडा बोकेका सयौं भूमिहीन र सुकुम्बासीको सपना शुक्रवार साकार भएको दिन थियो। सुर्खेतको लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाका २४७ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरियो।
    भेरीगंगाकी ७१ वर्षीया मोती खत्रीले सम्झिइन्, “२०३० सालतिर सिम्ताबाट बसाईँ सरेर आएका थियौं। त्यतिबेला यहाँ रुखै रुख थियो, आगो लगाएर रुख ढाल्दै खेत बनाएका थियौं। ५२ वर्षपछि पूर्जा पाउँदा आँखाबाट आँशु झर्‍यो।” उनका अनुसार बस्तीमा सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधार भए पनि पूर्जाविहीन बसाइँले स्थायित्वको अनुभूति थिएन।
    लेकबेशी नगरपालिका निवासी ८८ वर्षीय बलबहादुर ज्ञवालीले पनि ५२ वर्षपछि पूर्जा पाउँदा जीवनको सबभन्दा ठूलो सन्तोष प्राप्त भएको बताए। “पटक–पटक नापी त भयो, तर पूर्जा कहिल्यै हात परेन,” उनले सम्झिए।
    त्यसैगरी, देवबहादुर बुढाक्षेत्रीले चुनावमा नेताहरूले पूर्जा दिने भनेर गरेका बाचा अहिले आएर पूरा भएको बताए। “हरेक चुनावमा आश्वासन मात्र पाउँथ्यौं, तर योपटक साँच्चिकै काम भएको छ,” उनले खुशी व्यक्त गरे।
    भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केशरहादुर ओलीका अनुसार आयोगले लेकबेशीका २१ जना र भेरीगंगाका २२६ जनालाई पूर्जा वितरण गरेको हो। यसअघि चौकुने र बराहताल गाउँपालिकामा पनि पूर्जा वितरण गरिएको उनले जानकारी दिए।

    उपसभापति खड्काको प्रतिबद्धता

    कार्यक्रमका प्रमुख अतिथि, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न पाउनु ऐतिहासिक उपलब्धि भएको बताए। उनले भूमिको अधिकतम उपयोग गर्दै विशेषगरी व्यावसायिक खेतीमा अग्रसर भई आर्थिक समृद्धिको बाटो खोल्नुपर्नेमा जोड दिए।
    खड्काले चाँडै भूमि विधेयक पारित गरेर सम्पूर्ण भूमि सम्बन्धी समस्या समाधान गरिने जानकारी दिए। “जनताले निराशा होइन, जिम्मेवारीमा रहेका नेतासँग असन्तुष्टि राखेका छन्,” उनले भने, “हामीले बोलेको र गरेका व्यवहारबीचको दूरीकै कारण जनताको विश्वास घटेको हो।”
    खड्काले आफू उपप्रधानमन्त्री हुँदा राजस्व २०० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको उल्लेख गर्दै जग्गाको मूल्य वृद्धिका कारण राजस्व बढेको भ्रम चिर्ने आवश्यकता रहेको बताए।
    उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट गर्दै भने, “अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ। यही गठबन्धनबाट २०८४ को निर्वाचन हुनेछ।”

  • २ श्रावण २०८२, शुक्रबार २१:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित