काठमाडौ फागुन ५ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंलाई थप चारदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
निर्वाचनका बेला भ्रम फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको प्रशासनले जनाएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार बेलुकी भक्तपुरको थिमिबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा ल्याएको थियो ।
यसअघि पनि प्रसाईं अफवाह फैलाएको कसुरमा पक्राउ परेका थिए । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।









