बाँके(कुसुम), फागुन ११ ।नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता-पत्र सार्बजनिक गरेको छ । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पका साथ राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त पत्र सार्वजनिक गरिएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीको सभापतित्व एवम् कांग्रेस बाँकेका सभापति एवम् उम्मेदवार गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले स्वागत गर्दै उद्देश्यमाथी प्रकाश पारेका थिए ।
उम्मेदवार गौडेलले आफ्नो प्रतिवद्धतामा सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्था, शिक्षा र स्वास्थ्य, पुर्वाधार र शहरी विकास, कृषि उद्योग ब्यापार र रोजगारी, युवा तथा खेलकुद, महिला असहाय बालबाबालिका जेष्ठ नागरिक तथा सिमान्तकृत समुदाय, सँस्कृति पर्यटन वन तथा वातावरण, खानेपानी तथा सरसफाई, सञ्चार तथा पत्रपत्रिका लगायत विषयहरुलाई मुख्य रुपमा समेटेका छन् ।
प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त शासन ब्यवस्था स्थापित गर्ने र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाइने, संघीय बिद्यालय शिक्षा ऐन जारी गर्न पहल गरिने, बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ लाई शिक्षाको हवको रुपमा विकास गर्न नीति लिइने, कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिइने र कोहलपुरलाई यस क्षेत्रको ब्यवस्थित शहरको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।
यस्तै बजेट विनियोजन भईसकेको राप्ती सोनारीको बैजापुर कुम्भरदेखी नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रियामा अगाडी बढाउन पहल गरिने, कृषकलाई मल बीउ र औजार सहज रुपमा उपलब्ध गराउन पहल गरिने, राप्ती सोनारी र नरैनापुरमा रहेका रंगशालाको स्तरोन्नतीका साथै ब्यवस्थित गर्न पहल गरिने लगायत रहेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, पुर्वसभापति कृष्णप्रसाद पौडेल, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, कांग्रेस प्रदेश सभा-१ ‘क’ का सभापति अमरबहादुर बुढाथोकी, राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, नेपाली कांग्रेस राप्ती सोनारी–१ का वडासभापति मोहनराज डाँगी, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, तरुण दल क्षेत्र नम्बर १ का सभापति दिग्विजय राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव जयश्वर पौडेलले गरेका थिए ।









