मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल
  • मार्गरेखा संवाददाता

  • नरैनापुर, फागुन १३ । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटा गाउँ राजनीतिक उत्साहले भरिएको छ । यहाँका बस्तीहरु चुनावी बहसले गुञ्जिएका छन् । यिनै आवाजको बीचमा भेटिन्छन् कालाफाँटाका युवा निजामुद्दिन खान । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेललाई जिताउन उनी अहोरात्र खटिएका छन् । उनी भन्छन्–‘गौडेल जिते भने गगन थापा प्रधानमन्त्री बन्ने बाटो खुल्छ ।’ युवाको आशा, परिवर्तनको आकांक्षा र नेतृत्वप्रतिको भरोसा मिश्रित उनको भनाईले यो पटक नरैनापुरमा पनि भावी प्रधानमन्त्री गगन कुमार थापाको चर्चा र भरोसा देखिएको छ । भरोसाको त्यो दियो बाल्न चाहन्छन् गौडेललाई जिताएर । निजामुद्दिन भन्छन्–‘जेनजी आन्दोलनपछि काँग्रेसभित्र आएको नेतृत्व परिवर्तनले हामी युवामा नयाँ आशा जगाएको छ ।’ उनको भनाईले नरैनापुरमा बढ्दो राजनीतिक चेतना र युवाहरुको सक्रियतालाई संकेत गर्छ ।

    उनी मात्र होइन, नरैनापुरका अन्य युवाहरु पनि यही भावनामा छन् । यस्तै एक युवा हुन् सयन्स खान । उनी बर्दिवासमा काम गर्ने भए पनि अहिले चुनावी माहोलका लागि कालाफाँटा फर्किएका छन् । सयन्सको विचार फरक ढंगको छ । उनी न त गगन थापालाई व्यक्तिगत रुपमा चिन्छन्, न त नारायण गौडेललाई । तर पनि उनी स्पष्ट छन्–तराई, पहाड र हिमाललाई जोड्ने, सबै जातजातिलाई एउटै सूत्रमा बाँध्ने शक्ति काँग्रेस बाहेक अरुसँग छैन । त्यसैले काँग्रेसले जित्नुपर्छ ।’ नरैनापुरमा अहिले मतदाताहरु “रुख चिन्ह” प्रति सकारात्मक देखिन्छन् । करिब १० वर्षपछि रुखमा मतदान गर्ने अवसर पाउँदा स्थानीय मतदातामा उत्साह बढेको छ । काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार नारायण प्रसाद गौडेलको स्थानीय प्रभाव पनि यसको मुख्य कारण मानिन्छ । स्थानीय फाद्रिसी खानले भने–‘द्वन्द्वकालको कठिन समयमा पनि गौडेलले नरैनापुरमा संगठन विस्तार गर्नुभयो, नागरिकको साथ दिनुभयो । त्यसैले यहाँका मानिस उहाँलाई आफ्नै मान्छे जस्तो मान्छन् ।’
    गौडेलले क्षेत्रीय सभापति हुँदा दुर्गम नरैनापुरमा संगठन विस्तार, कार्यकर्ताको संरक्षण र जनताको सुखदुःखमा साथ दिएका थिए । यही कारणले उनको छवि यहाँ बलियो बनेको छ । क्षेत्रीय सभापति पोषण केसीका अनुसार, बुधवार वडा नं. २ र ३ का विभिन्न बस्तीहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा, निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, अग्रज नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, कृष्णचन्द्र मौर्य लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । पछिल्ला वर्षहरुमा गठबन्धन राजनीतिका कारण नरैनापुरका मतदाता रुख चिन्हमा मतदान गर्नबाट बञ्चित हुँदै आएका थिए । तर, यसपटक परिस्थिति बदलिएको छ । ‘अब करिब १० वर्षपछि मतदाताले आफ्नै पार्टीको चिन्हमा मतदान गर्न पाउने भएका छन्, त्यसैले उत्साह स्वाभाविक रूपमा बढेको छ’ क्षेत्रीय सभापति केसीले भने । उम्मेदवार गौडेलले नरैनापुरमा ‘रुख चिन्ह’ प्रति मतदाताको भरोसा फर्किएको बताए ।
  • १३ फाल्गुन २०८२, बुधबार २१:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित