नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यद्यपि सभापति थापाको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन ।
कांग्रेसले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक बोलाएलगत्तै सभापति थापाले राजीनामा बुझाएका हुन् । ‘सभापतिजीले राजीनामा दिनुभयो । अब केन्द्रीय समितिमा छलफल हुन्छ’, कांग्रेसका एक पदाधिकारीले जनाएका छन ।
विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापाले २१ फागुनमा भएको चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
गगन आफैँ सर्लाही ४ मा पराजित भएका छन् भने कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी सिट मात्रै जितेको छ । पार्टीलाई जिताउन नसकेको भन्दै थापाले राजीनामा दिएका हुन् ।
तर उनले अहिलेको परिस्थितिमा राजीनामा दिन नहुने मत संस्थापनपक्षका नेताहरूको छ । पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेको भन्दै पार्टीलाई त्यसअगाडिकै हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् । शुक्रबार बस्ने बैठकमा सभापति थापाको राजीनामाबारे निर्णय लिने बताइएको छ ।