मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गाेली हानेर प्रहरीले ३ जना लागुऔषध काराेबारी समायाे, एकजना घाइते
  • मार्गरेखा संवाददाता

  • रूपन्देही । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव छन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ । घाइते यादवको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो । तर, उनीहरू भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो ।

    प्रहरीका अनुसार भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्दै थप दुई राउण्ड गोली चलाएको थियो। सोही क्रममा विशाल यादव घाइते भएका हुन् ।

    घटनापछि प्रहरीले विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको डीएसपी चन्दले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

  • २४ चैत्र २०८२, मंगलवार ०९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित