घरेलु मैदानमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि अक्सनमा आज १५० खेलाडीको अन्तिम सूची घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज सार्वजनिक गरेको सूचीमा ४५८ खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ। एनपिएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जनाएको छ।
ती खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ। श्रेणी ‘ए’ मा आठ खेलाडी छन्। ती हुन्: अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम।
श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ र श्रेणी ‘सी’ मा १०७ खेलाडी छन्। यो प्रतियोगिताको अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ।










