काठमाडौ साउन २१ । बर्दिया जिल्लाका लागि छुट्याइएको आयोजना सभापति शेरबहादुर देउवाको गृहजिल्लामा लगिएको भन्दै कांग्रेस सांसदले सरकार विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।
साउन २१ गते बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद सञ्जय गौतमले बर्दियाको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा लगिएको आरोप लगाएका हुन् ।
‘अन्याय भयो, सभामुख महोदय ! सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा पुर्याइयो’, गौतमले भने, ‘मैले बारम्बार सदनमा भनेँ सरकार सुन्दैन, मेरो कुरा सुनोस् । होइन भने आफ्नै सरकारको विरुद्धमा म सत्याग्रहको रूपमा उभिन्छु । यहीँबाट घोषणा गर्न चाहन्छु ।’
यसअघि पप्पु कन्स्ट्रक्सनले बर्दियामा बनाइरहेको पुल गुणस्तरहीन भएको भन्दै गौतम सत्याग्रहमा बसेका थिए ।










