नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग कुराकानी गर्दै मन्त्री राणाले सिधा उडानका लागि पहल गर्ने बताएकी हुन्।
‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु। नेपालगञ्ज-दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौं। यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौं त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु,’ उनले भनिन्।
नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने उनको भनाइ छ।
यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधार बनिसकेकाले नेपालगञ्ज-दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन्। साभार – सेताे पार्टी बाट