काठमाडौ असाेज ३ । नेपाली कांग्रेसले सार्वजनिक र निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीप्रति आपत्ति जनाएको छ। शुक्रबार बसेको कार्यसम्पादन बैठकले सार्वजनिक र निजी सम्पत्तिमाथि भएको घटनाको न्यायिक छानबिन गर्न मागसमेत गरेको छ।
‘देशभरि सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गरिएको घटनाप्रति कडा शब्दमा निन्दा गर्दछौं। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न उच्च न्यायिक छानबिन समिति गठन गर्न माग गर्दछौं,’ बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने।
उनले देशको सर्वोच्च कानुन संविधान रहेकाले संविधानाबटै जटिलताको समाधान खोजिनुपर्ने बताए। ‘समस्याको उचित समाधान संविधानभित्रै खोज्न सकिन्छ। संविधान देशको सर्वोच्च कानुन हो। जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ भन्ने कांग्रेसको ठहर छ,’ उनले भने।
त्यस्तै कांग्रेसले जेनजीको जायज मागलाई आत्मसात गर्ने र विधिपूर्वक समाधान गर्न जोड दिने बताएको छ। त्यस्तै पार्टीलाई पार्टीलाई थप गतिशील बनाउन पनि बैठकमा जोड दिइएको उनले बताए।
बैठकमा पार्टीको पुनर्गठन वा महाधिवेशनका विषयमा छलफल नभएको उनले बताए। यस विषयमा उठेका सवालहरू व्यक्तिगत विचार हुनसक्ने उनको भनाइ छ।










