नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्व पदाधिकारीहरूको परार्मश छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर कोइराला निकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा देखिएका हुन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय रहेका बेला जिल्ला सभापतिहरूले केन्द्रको मात्र नेतृत्व परिर्वतनको विपक्षमा उभिएका छन् । जिल्ला सभापतिहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर नियमित महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिलाई दवाव दिने भएका छन् ।
काठमाडौं उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ),महेन्द्रध्वज जीसी (नवलपुर),तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा (मकवानपुर),रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन होइन नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने उनीहरूको बुझाइ छ ।
त्यस्तै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरूले भेलापछि पार्टीको विधान संशोधनसहितका विषय समेटेर सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एक जिल्ला सभापतिले जानकारी दिए । जिल्ला सभापतिहरूसँग समन्वयका लागि उनीहरू जिल्ला सभापतिले प्रदेश अनुसार कार्यविभाजनसमेत गरेको ती जिल्ला सभापतिले जानकारी दिए ।
अधिकांस जिल्ला सभापति नियमित नियमित महाधिवेशनको पक्षामा रहेके उनले दाबी गरे ।
नेता शेखरसहितका नेताहरू छिटो र छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्ष उभिएका छन् । सभापति देउवासहितका संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनले पार्टी विभाजन हुने र तत्काल महाधिवेशन पनि सम्भव नरहेको जिकिर गर्दै आएका छन् । सभार नागरिक दैनिक अनलाइन बाट










