सुदूरपश्चिम प्रदेशमा ४६ हजारभन्दा धेरै मतदाता थपिएका छन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि घोषणा भएपछि प्रदेशभर ४६ हजार २० नयाँ मतदाता थपिएका हुन् । राष्ट्रिय परिचयपत्रमार्फत २९ हजार ४३९ तथा निर्वाचन कार्यालयहरूमा पुगेर १६ हजार ५ सय ८१ जनाले प्रदेशभर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार असोज १० गतेदेखि मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ताको काम भएको थियो । यो अवधिमा सबैभन्दा बढी कैलाली जिल्लामा मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कैलालीमा १२ हजार १ सय १३ जनाले राष्ट्रिय परिचयपत्रमार्फत तथा ६ हजार एक सय जनाले निर्वाचन कार्यालयमै पुगेर गरी जम्मा १८ हजार २ सय १३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।
‘कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी मतदाता थपिएका छन्,’ भट्टले भने, ‘निर्वाचन कार्यालयमा पुगेर ४ हजार १ सय ९९ तथा राष्ट्रिय परिचयपत्रमार्फत ८ हजार ९२ गरी १२ हजार २ सय ९१ मतदाता कञ्चनपुरमा थपिएका छन् ।
यस्तै, २ हजार ६ सय ५२, दार्चुलामा २ हजार ६ सय २८, अछाममा २ हजार ६ सय ४, बझाङमा दुई हजार ३ सय ४५, डडेल्धुरामा एक हजार ८ सय ९२, डोटीमा एक हजार ८ सय ७२ तथा बाजुरामा एक हजार पाँच सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार सुदूरपश्चिममा असोज १० गतेअघि १६ लाख ७४ हजार मतदाता रहेका थिए । ‘४६ हजार २० जना मतदाता थपिएसँगै प्रदेशभर मतदाताको संख्या १७ लाख २० हजार नाघेको छ,’ भट्टले भने, ‘अद्यावधिकको कार्य २१ गतेदेखि सुरु गर्दै छौँ । त्यसपछि मतदाताको संख्या फरक पनि पर्न सक्छ ।’











