मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस शीर्ष नेताहरू कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ?
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर मसान्तसम्म केन्द्रमा आइपुग्नेगरी उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी कार्यालयलाई निर्देशन दिएको छ ।

    मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरी त्यसैदिन र मंसिर १७ गते पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सर्कुलरमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार सिफारिस पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम सिफारिस गर्न निर्देशन दिइएको थियो । साभार राताेपाटीबाट

    परिपत्रमा विधान अनुरूप योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न निर्देशन दिइएको छ । त्यही निर्देशन अनुरूप अधिंकाश पार्टीका प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई सिफारिस गरिसकेका छन् ।

    सभापति शेरबहादुर देउवाको नाम डडेलधुराबाट सिफारिस भएका छन् । देउवा २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट प्रतिस्पर्धा गरेर सबैमा निर्वाचित भएका छन् । बिहीबार बसेको जिल्ला कार्यसमिति बैठकले देउवाको नाम उम्मेदवारका लागि सिफारिस गरेको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ । क्षेत्रीय समितिको मङ्गलवार बसेको बैठकले खड्काको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति झकबहादुर डाँगीले बताए । २०७९ सालमा पनि खड्काको नाम एकल सिफारिस भएको थियो । त्यही क्षेत्रमा उम्मेदवार भएर विजयी भएका थिए ।

    उपसभापति धनराज गुरुङको नाम स्याङ्जा क्षेत्र नं १ र २ बाट सिफारिस भएको छ । दुवै क्षेत्रीय समितिले उपसभापति गुरुङको नाम सिफारिस गरेको जिल्ला सभापति राजु थापाले जानकारी दिए । गुरुङ २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

    महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिस भएको छ । थापाको नाम काठमाडौँ क्षेत्र नं ४ बाट एकल सिफारिस भएको छ । त्यो बाहेक थापाको नाम सर्लाही–४, रोल्पा र धनकुटाबाट पनि सिफारिस भएको छ ।

    थापा यसअघि भएका तीन निर्वाचनमा काठमाडौँ ४ बाट प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । काठमाडौँ ४ मा थापाको मात्रै नाम सिफारिस भए पनि अन्य जिल्लामा भने उनीसहित अरू नेताहरूको नाम पनि सिफारिस भएर आएको छ ।

    महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले सर्वसम्मत रूपमा शर्माको एकल नाम सिफारिस गरेको जानकारी दिए । महामन्त्री शर्मा २०७९ को निर्वाचनमा झापा–१ बाट नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएर विजयी बनेका थिए ।

    सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को मकवानपुर क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रमा उम्मेदवार बनेर पराजित भएकी थिइन् ।

    सहमहामन्त्री महेन्द्र यादवको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं ४ बाट सिफारिस भएको छ । उनी २०७९ मा पनि त्यहीबाट उम्मेदवार बनी पराजित भएका थिए ।

    सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम पाँचथरबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका कांग्रेस पाँचथर सभापति रूपनारायण जबेगुले जानकारी दिए । उनी २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका थिए ।

    सहमहामन्त्री किशोरसिंह राठोरको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ बाँके क्षेत्र नं ३ बाट सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    सहमहामन्त्री बद्री पाण्डेको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ बाजुराबाट सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यहीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

    पार्टी प्रवक्ता डा. प्रकाश शरण महतको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं ५ बाट सिफारिस भएको छ । बुधवार बसेको क्षेत्रीय समिति बैठकले प्रवक्ता डा. महतसहित ६ जनाको नाम सिफारिस गरेको हो । २०७४ सालको निर्वाचनमा डा. महत यही क्षेत्रबाट निर्वाचन लडेर एमाले उम्मेदवार ईश्वर पोखरेलसँग पराजित भएका थिए । २०७९ को निर्वाचनमा उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए ।

    इतर समूहका नेता डा. शेखर कोइरालाको नाम मोरङ क्षेत्र नं ६ बाट एकल सिफारिस भएको छ । कोइरालाको नाम प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एकल सिफारिस भएको क्षेत्रीय सभापति देवराज लामाले जानकारी दिए । कोइराला २०७९ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    पूर्वउपसभापति विजयकुमार गच्छदारको नाम सुनसरी क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । उनी २०४८ सालदेखि त्यही क्षेत्रमा उम्मेदवार बन्दै आएका छन् ।

    पूर्वउपसभापति विमलेन्द्र निधिको धनुषा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस भएको कांग्रेस धनुषाका नेता जीवनाथ चौधरीले जानकारी दिए । २०७९ मा समानुपातिक प्रणालीमा बसेका निधि त्यसअघि यही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहको काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

    पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस भएको छ । मङ्गलवार बसेको जिल्ला कार्यसमिति बैठकले श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको जिल्ला सभापति राजु थापाले जानकारी दिए ।

  • २५ मंसिर २०८२, बिहीबार १९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित