नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन् ।
समसामयिक विषय र पार्टीको आन्तरिक विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन् । छलफलमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुनेछ ।
कांग्रेसले आगामी २६ देखि २८ पुसमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । महाधिवेशनको तयारीको लागि निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन ।
१६ पुसमा वडा अधिवेशन गरेर २६ पुसमा केन्द्रीय महाधिवेशन गर्न सम्भव नहुने हो कि भन्ने आशंका कांग्रेस नेताहरूमा छ ।










