मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस होँ’ : उपसभापति शर्मा
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज, माघ २७ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी शर्माले कांग्रेस अहिले पुरै नयाँ बनेर जनतामाझ आएको बताए ।
    ‘कांग्रेस नयाँ बनेर आएको देखेर कयौं रास्वपा लगायत दलका कार्यकर्तालाई हामीले कांग्रेसमा प्रवेश गराईरहेका छौं, कतिपय रास्वपाबाटै उम्मेदवार बनेका साथीहरु पनि कांग्रेस यसरी परिर्वतन हुन्छ भनेर पहिल्यै थाहा पाएको भए रास्वपाको उम्मेदवार नबनेर कांग्रेसलाई नै जिताउने अभियानमा लाग्ने थियौं पनि भन्नु भएको छ,’ उनले भने । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व कांग्रेस सभापति गगन थापाले नै गर्ने उपसभापति शर्माले ठोकुवा गरे ।
    कांग्रेसले यसपटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ जना उम्मेदवारहरु नयाँ उठाएको उनले जानकारी दिए । यसपटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको उनले दाबी गरे । बद्लिएको कांग्रेसले यसपटक आम कार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरुका लागि आफ्नै चुनाव चिन्हमा उम्मेदवार उठाएर बद्लिएको कुरा पुष्टी गरेको उनले सुनाए ।
    नेपाली कांग्रेसले अब कार्यक्रमहरु गर्दा विगतको जस्तो आशसन ग्रहण र भाषणमा घण्टौं समय खर्चिनुपर्ने जस्ता कुरालाई छोट्याउनुपर्ने सुझाव दिए । कांग्रेस बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब ‘परफेक्ट’ खालको देखिनुपर्ने बताए । ‘हामी बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो, धेरै समय आसन ग्रहण र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ,’ उपसभापति शर्माले भने ।
    अर्को प्रसंगमा उनले कांग्रेस भित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउन लाग्न आब्हान गरे । समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा कतिपय योग्य व्यक्ति छुटेको हुन सक्ने पनि उनले बताए । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन ५ जना क्रियाशिल सदस्यहरु वरिपरीका ५० वटा घरमा पुगे पर्याप्त हुने शर्माले बताए ।
    ‘पार्टीले आगामी फागुन १ देखी २१ सम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नामक अभियान सुरु गर्न लागेको उनले जनाए । प्रतिनिधि सभा निर्वाचनपछि देशलाई गाँसेर लैजाने ताकत कांग्रेससँग मात्र रहेको उनको दाबी छ । ‘आगामी नयाँ वर्ष २०८३ सालपछि नयाँ सरकार आउने सम्भावना छ, त्यसपछि बैशाखपछि कांग्रेसको नियमित महाधिवेशनको मिति घोषणा हुन्छ, दशै–तिहारपछि स्थानीय तहको निर्वाचन तयारी सुरु हुन्छ,’ उनले भने, ‘स्थानीय तहमा वडादेखी मेयर/अध्यक्ष सम्मको टिकट वितरण गर्नुअघि हामीले क्रियाशिल सदस्यको लिष्ट वडा तहमा पठाउँछौं, वडामा चुनावबाट उम्मेदवार छान्ने नीति हामीले बनाएका छौं ।’ २०८४ मा वडाअध्यक्षको चुनाव लड्ने तयारी गरेका नेताहरु यो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले निर्देशन दिए ।
    नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहित, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ बाँकेका उम्मेदवार अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस बाँकेका सभापति एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी र जिल्ला सचिव एवम् क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम सञ्चालन भने कांग्रेस बाँकेका सचिव एवम् लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरीले गरेकी थिइन् ।

  • २७ माघ २०८२, मंगलवार २१:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित