लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेसभित्र आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाहीलाई तीव्रता दिइएको छ ।
पार्टीका विभिन्न जिल्लाबाट केन्द्रीय कार्यालयमा पुगेका निवेदनहरूमा कतिपय नेता तथा कार्यकर्ताले आधिकारिक उम्मेदवारलाई असहयोग गरेको, स्वतन्त्र वा विपक्षी उम्मेदवारलाई सहयोग गरेको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसभित्र एक समूहले असहयोग गर्ने र अर्कोले कारबाही गर्ने अवस्था सिर्जना भएको नेताहरू बताउँछन् ।
प्रदेश र केन्द्रमा कारबाहीका लागि स्थानीय कार्यकर्तादेखि प्रदेशस्तरीय र पूर्वकेन्द्रीय सदस्यहरू समेतको नाम पठाइएको छ ।
नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्र नम्बर १ र २ का आफ्ना उम्मेदवारलाई सहयोग नगरी अन्यलाई सघाएको आरोप लगाउँदै निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, महासमिति सदस्य गुणनिधि तिवारी, क्षेत्रीय सभापति माधव प्रसाद पाण्डेय, प्रदेश वनमन्त्रीसमेत रहेका देवकरण प्रसाद कलवार, जिल्ला सदस्य सञ्जयमणि त्रिपाठीसहित ४३ जनालाई कारबाहीको सिफारिस गरेको थियो ।
रोचक त के भने केन्द्रमा कारबाही सिफारिस गर्ने नवलपरासी जिल्ला सभापति अर्जुन कुमार पोखरेलविरुद्ध केन्द्रमा नै अर्को समूहले प्रमाणसहित कारबाही माग गर्दै उजुरी दर्ता गराएको छ ।
कांग्रेस सभापति पोखरेलले निर्वाचनमा असहयोग गर्ने, पार्टीका केन्द्रीय नेताहरू आउँदा भेट्न नचाहने, यसअघिको निर्वाचनमा आफ्नो पार्टीका वडाध्यक्षलाई हराउन लगानी गरेको आरोप लगाउँदै हालै पार्टी केन्द्रीय कार्यालयमा कारबाहीका लागि निवेदन दर्ता गरिएको छ ।
सभापति पोखरेललाई कारबाही माग्दै चैत १० गते दर्ता गरेको निवेदनमा पार्टीका क्षेत्रीय कार्यसमिति, पालिका सभापति र वडाध्यक्षहरूसहित गरी ५८ जना छन् ।
यसरी अर्को पक्षलाई कारबाहीका लागि सिफारिस गरेर पठाउने प्रायः जिल्ला कमिटीहरू रहेका छन् ।
- प्रदेशमा उजुरीमाथि के हुँदै छ ?
पाल्पा जिल्लाका क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठलाई निर्वाचनमा पराजित गर्ने गतिविधि गरेको आरोप लगाउँदै पार्टीको तानसेन नगरपालिका सचिव शैलेन्द्र भट्टराईलाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षको लागि निष्कासन गर्ने सिफारिस गरेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
क्षेत्रबाट आएको प्रमाणका आधारमा जिल्ला पार्टी कार्यालय पाल्पाले उक्त सिफारिस प्रदेश र केन्द्रलाई पनि पठाएको छ ।
केही दिन अगाडि बाँके जिल्लाको क्षेत्र नम्बर ३ मा महासमिति सदस्य लक्ष्मीनारायण शाह र प्रदेश महासमिति प्रतिनिधि राजु यादवलाई कारबाहीको सिफारिस भएको थियो ।
अहिले अन्य जिल्लामा प्रदेश मन्त्रीदेखि पार्टीका उच्च नेताहरूलाई कारबाही सिफारिस आउने क्रम जारी छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं पार्टीले गठन गरेको निर्वाचन अनुशासन समितिका संयोजक प्रकाश रानाले अहिले प्रायः जिल्लाहरूबाट कारबाहीको सिफारिस आउने क्रम जारी रहेको रातोपाटीलाई बताए ।
प्रदेशमा सङ्ख्याको हिसाबले ठ्याक्कै यकिन नभए पनि करिब १ सयभन्दा माथि यस्ता सिफारिस आएका छन्, किनकि आउने क्रम जारी नै छ ।
उनका अनुसार सबैभन्दा धेरै नवलपरासी र कपिलवस्तु जिल्लामा कारबाहीका लागि सिफारिस आएका छन् । अन्य जिल्लाहरू र विभिन्न क्षेत्रहरूबाट पनि सिफारिस आएका छन् ।
रुपन्देहीको क्षेत्र नम्बर ३ र ४ बाट कारबाहीका लागि सिफारिस आएको छ ।
अहिले जिल्लाबाट आउने कारबाहीका लागि सिफारिसका विषयमा अब केही दिनमा समितिको बैठक बस्ने र त्यससम्बन्धी छलफल गर्ने रानाले बताए ।
उनले प्रमाणहरू अझै नहेरिएकोले कति जनालाई तथा कस्ता–कस्ता प्रमाणका आधारमा सिफारिस गरिएको हो भन्न नसकिने बताए । अब केही दिनमा बस्ने बैठकले गहन अध्ययन गरेर आवश्यक निर्णय गर्ने पनि उनले बताए ।
निर्वाचनमा अपेक्षित परिणाम नआएको क्षेत्रमा अन्तर्घात मुख्य कारण भएको दाबी गर्दै नेताहरूले दोषी पहिचान गरी कडा कारबाही गर्न दबाब दिएका छन् । अर्कोतर्फ केही नेताहरूले भने ‘राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको’ भन्दै निष्पक्ष छानबिनको माग गरेका कांग्रेसका नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।
कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा दाङ क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका योगेन्द्र चौधरीले अहिले केन्द्रमा आएका कारबाही सिफारिसहरूको सङ्ख्याबारे यकिन नभएको बताए ।
उनले सिफारिस आउने क्रम जारी रहेको उल्लेख गर्दै कस्ता–कस्ता सिफारिस आएका छन् भन्ने विषयमा फाइल खोलिएपछि थाहा खुल्ने रातोपाटीलाई प्रस्ट पारे ।
उनले नेतृत्वले अनुशासन कायम राख्न कारबाही आवश्यक रहेको विषयमा पार्टी स्पष्ट रहेको तर कसैलाई आग्रह वा पूर्वाग्रहभन्दा पनि ठोस प्रमाणको आधारमा निर्णय लिने प्रस्ट पारे । साभार राताे पाटी अनलाइनबाट









