मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा सरकारी जग्गा अतिक्रमण हटाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, बाँके बैशाख २१ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले कोहलपुर नगरपालिकाले सार्वजनिक गरेको सरकारी जग्गा अतिक्रमण हटाउने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
    नगर समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै कोहलपुर नगरपालिकाले १० दिनभित्र सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जारी गरेको सूचनाले मानविय संवेदना र नागरिकको आवास अधिकारसँग सम्बन्धित विषय उठाएको उल्लेख गरेको छ। पार्टीले सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण राज्य र स्थानीय सरकारको कानुनी दायित्व भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारेको छ।
    तर, दीर्घकालदेखि सरकारी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी एक्कासी हटाउने निर्णयले समस्या सिर्जना गर्ने र मानवीय संकट निम्त्याउन सक्ने पार्टीको भनाइ छ।
    विज्ञप्तिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय र परिपत्रअनुसार वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूका लागि सुरक्षित आवासको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, पहिचानका आधारमा मात्र प्रक्रिया अघि बढाउन र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको जनाइएको छ।
    रास्वपाले नगरपालिकासँग तीन बुँदे मागसमेत अघि सारेको छः
    १. वास्तविक सुकुम्बासीको वैज्ञानिक पहिचान गर्नुपर्ने,
    २. पहिचान भएका सुकुम्बासीका लागि गाँस, बास र कपासको उचित व्यवस्था तथा सुरक्षित आवास योजना तयार गर्नुपर्ने,
    ३. मानवीय संवेदनालाई ध्यानमा राख्दै पर्याप्त समय दिएर मात्र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउनुपर्ने।
    पार्टीले विकास र संरक्षणको नाममा नागरिकलाई घरबारविहीन बनाउनु राज्यको दायित्वविपरीत हुने उल्लेख गर्दै मन्त्रालयको निर्देशनअनुसार मानवीय ढंगले समस्या समाधान गर्न कोहलपुर नगरपालिकासँग आग्रह गरेको छ ।

  • २१ बैशाख २०८३, सोमबार १५:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित