गुलरिया, बर्दिया, जेठ २५ – बर्दियामा प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जेठ २५ गते बिहान करिब ५ बजे मधुवन नगरपालिका–८ स्थित सडक खण्डमा विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामान बोकेका सवारी साधन नियन्त्रणमा लिइएका हुन्।
प्रहरीले भे.१ च ३८५० नम्बरको अशोक लेल्याण्ड पिकअप, भे.१ च १५१५ नम्बरको बोलेरो पिकअप र भे.१२ प २२२१ नम्बरको पल्सर मोटरसाइकलमा ल्याइँदै गरेको काँचो केराका १०८ बोरा (३ हजार ७५० दर्जन) बरामद गरेको जनाएको छ। बरामद गरिएको केराको अनुमानित मूल्य २५ लाख ५१ हजार रुपैयाँ रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा भारतको बहराइच जिल्ला आमबाडीया (फकुलपुर) निवासी २० वर्षीय कालिम खान र सोही स्थानका २२ वर्षीय रिजवान अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसै क्रममा मधुवन नगरपालिका–८ मा रहेको एक घरको गोदाममा छापा मार्दा विभिन्न प्रकारका किराना सामग्रीसमेत बरामद गरिएको छ। गोदामबाट बरामद सामग्रीको अनुमानित मूल्य १८ लाख ५३ हजार २ सय ६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको केरा, सवारी साधन र अन्य किराना सामग्री गरी कुल ४४ लाख ४ हजार २ सय ६० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।








