नेपालगञ्ज उप-महानगरपालिकाले गर्मी विदा घोषणा गर्यो
नेपालगञ्ज, बाँके। नेपालगञ्ज उप-महानगरपालिकाले अत्यधिक गर्मी मौसमका कारण विद्यालयहरूमा गर्मी विदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रअनुसार असार १० देखि १२ गते सम्म नेपालगञ्ज उप-महानगरपालिका क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालय, धार्मिक विद्यालय र संस्थागत विद्यालयका सबै कक्षाहरूको पठनपाठन बन्द रहने जानकारी दिइएको छ।
अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीहरूलाई विद्यालय आवत-जावतमा कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीहरू, शिक्षकहरू र जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाहरूको सुझावका आधारमा यो निर्णय गरिएको कार्यालयले जनाएको छ।
साथै उक्त विदाको समयमा सबै विद्यार्थीहरूलाई पर्याप्त गृहकार्यको व्यवस्था गरी स्व-अध्ययनलाई व्यवस्थित गर्न आवश्यक सहजीकरण गर्न समेत विद्यालयहरूलाई अनुरोध गरिएको छ।








