काठमाडौ साउन ७ । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका हुन् ।
उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । तीन न्यायाधीशको इजलासले निस्सा दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्ने छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बुधबार दिएको पुनरवलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ ।
गत वैशाख ४ मा सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो । उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दिएको हो ।









