काठमाडौ साउन ७ । एकताका लागि दबाब दिन कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिले पनि बाेलाए राष्ट्रिय भेला
नेपाली कांग्रेसभित्र देखिएको विवाद थप पेचिलो भन्दै गएपछि कांग्रेसकातर्फबाट निर्वाचित नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि राष्ट्रिय भेला गर्ने भएका छन्। कांग्रेसकाे संस्थापन इतर पक्षले साउन २९ गते राष्ट्रिय कार्यकर्ता भेला बाेलाएर नयाँ पार्टी गठनकाे दिशा समातेपछि पालिकाका जनप्रतिनिधिले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका देखिन्छ। स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यसमेतलाई काठमाडौं बोलाएर दबाब मुलक भेला गर्न लागेको हो।विहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा भएकाे नगर प्रमुखहरूको बैठकले साउन १६ गते राष्ट्रिय भेला बाेलाउने निर्णय गरेकाे छ।
बैठकले भाेलि शुक्रबार बिहानै देखि पार्टीका शिर्ष नेतासँग मिल्न नसक्नुका कारणहरूबारे भेटेर छलफल गर्ने र मिल्नका लागि दबाब दिने निर्णय पनि गरेको छ। दबाब अभियानले नेपाल नगर पालिका संघका केन्द्रीय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानालाई संयोजक र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ। आगामी स्थानीय र प्रदेशकोको निर्वाचन तथा पार्टी एकताका विषयमा छलफल गर्न भेला आयोजना गर्न लागिएको अभियानका संयोजक भीम प्रसाद ढुंगनाले जानकारी दिए । ‘जुन पार्टीको कार्यकर्ता भएर यहाँ पुगियो त्यो पार्टी जोगाउनु हामी सबैको कर्तब्य हो´, ढुंगानाले भने ‘पार्टीलाई एकताबद्ध बनाउनका लागि नै हामीले दशभरका जनप्रतिनिधि काठमाडौं बोलाएर दबाब दिन खोज्दैछौं ।’
उनले समूहको कुरा नभई पार्टीलाई मात्र केन्द्रमा राखेर भेला बोलाइएकाे बताए । पार्टीलाई मिलाउने बिन्दु खोज्ने सन्दर्भमामा शुक्रबारदेखि नै पार्टी सभापति गगन थापासहित पदाधिकारी र असन्तुष्ट नेताहरूसँग छलफल गरिने उनकाे भनाइ छ। स्थानीय तहमा कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरू पार्टी नफुटोस् भन्ने पक्षमा रहेकाले त्यसकै प्रतिनिधित्व गर्दै दबाब दिन लागेको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताए। बैठकले भेलामा पेश गरिने विषयहरू तय गर्न सबै प्रदेशमा समन्वयात्मक बैठक समेत गर्ने तयारी गरेको छ। निमिलेका विषयमा छलफलपछि विकल्पसहित मिलन बिन्दुको दस्तावेज समेत सार्वजनिक गरिने तयारि भएको कागेश्वरीका नगर प्रमुख कार्कीले बताए । राष्ट्रिय सभागृह वा प्रज्ञा प्रतिष्ठान मध्ये एक हल १६ गतेका लागि बुक गरिने गाेकर्णेश्वर नगर प्रमुख दिपक रिसालले जानकारी दिए। सातै प्रदेशबाट करिब २० जना नगर प्रमुखहरूको बैठकमा सहभागीता रहेको थियो।
बैठकमा जनकपुर उपमहानगरपालिका नगर प्रमुख मनोज साह, कैलाली गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द भट्ट, कालिकोट तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकर उपाध्याय, दोलखा नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, हलेसी नगरपालिकाका नगर प्रमुख विमला राई, भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठी, चितवन रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा, किर्तिपुर नगरपालिकाकाका नगर प्रमुख कृष्णमान ढंगोल, ललितपुर गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठलगायत २० जनाको सहभागिता रहेको थियो । ललितपुर महानगर पालिकाका नगर प्रमुख चिरिबाबु महर्जन भने विदेशमा रहेकाले बैठकमा सहभागि भएन । बैठकले नेपाली कांग्सेका तर्फबाट निर्वाचित सबै स्थानिय तहका जनप्रतिनिधिहरूलाई नै आयोजक बनाएको पनि संयोजक ढुंगानाले जानकारी दिए। साभार नेपाल खबरबाट









