नेपालगन्ज, साउन २० । नेपालगन्ज उद्योग वाणिज्य संघको २०८३ भदौ १ गते हुने निर्वाचन सर्वसम्मत बनाउने सहमति भएको छ। उद्योगी तथा व्यवसायीहरूको चाहनालाई दृष्टिगत गर्दै व्यवसायिक एकतालाई बलियो बनाउने उद्देश्यसहित विभिन्न समूहबीच सहमति जुटाइएको हो।
नेपालगन्जमा बसेको छलफलमा पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष तथा संघका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा व्यवसायिक एकताको अपरिहार्यतालाई आत्मसात गर्दै आगामी निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न गर्ने निर्णय गरिएको जनाइएको छ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी, संघका अध्यक्ष टंकबहादुर धामी, पूर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, पूर्व प्रवक्ता सञ्जय थापा, पूर्व महासचिव विष्णु लामिछाने, पूर्व वरिष्ठ कार्यसमिति सदस्य ललित रञ्जनिया तथा एशोसिएट सदस्य कमल कार्कीको उपस्थिति रहेको थियो।
पद बाँडफाँटमा सहमति
सहमति अनुसार चिरञ्जीवी ओली नेतृत्वको समूहले अध्यक्षसहित १२ पद पाउने भएको छ। उक्त समूहलाई अध्यक्ष १, कोषाध्यक्ष १, वरिष्ठ सदस्य १, खुला सदस्य ४, एशोसिएट सदस्य २, वस्तुगत सदस्य १ र मनोनीत सदस्य २ पद दिइने सहमति भएको छ।
त्यसैगरी सञ्जय थापा नेतृत्वको समूहले ८ पद पाउने सहमति भएको छ। उक्त समूहलाई वाणिज्यतर्फ उपाध्यक्ष १, महिला उपाध्यक्ष १, उपमहासचिव १, खुला सदस्य ४ र महिला सदस्य १ पद दिने निर्णय गरिएको छ।
कमल कार्की नेतृत्वको समूहले ६ पद पाउने भएको छ। उक्त समूहलाई उद्योगतर्फ उपाध्यक्ष १, महासचिव १, खुला सदस्य १, वस्तुगत सदस्य १ र महिला सदस्य २ पद दिने सहमति भएको जनाइएको छ।
तीनवटै समूहले प्राप्त पदहरूमा आ–आफ्नो क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार छनोट गर्ने निर्णय पनि गरेका छन्।
सहमति पत्रमा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओली र सञ्जय थापाले हस्ताक्षर गरेका छन् भने पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ साक्षीका रूपमा रहेका छन्।












