काठमाडौं, साउन २० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेस्टुरेन्टमा जथाभावी धुम्रपान गराउने तथा धुम्रपान नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था पालना नगर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
कार्यालयले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामा सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रणसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई निर्देशन दिएको हो।
सूचनाअनुसार कतिपय होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का तथा चुरोटलगायत धुम्रपान गराउने गरिएको, त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको तथा कानुनी व्यवस्था उल्लङ्घन भएको भन्दै गुनासो प्राप्त भएपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
प्रशासनले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याई, धुम्रपान गर्न मिल्ने स्थानलाई अन्य क्षेत्रबाट अलग्गै व्यवस्थापन गर्न र धुम्रपान नगर्ने व्यक्तिमा धुवाँको असर नपर्ने व्यवस्था गर्न आग्रह गरेको छ।
कार्यालयले सम्बन्धित निकायसँगको समन्वयमा नियमित अनुगमन गरिने र ऐनविपरीत कार्य गरेको पाइएमा सोही ऐनबमोजिम अधिकतम १७ वर्षसम्मको सजायसमेत हुन सक्ने उल्लेख गर्दै सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्न अनुरोध गरेको छ।









