धनगढी २७ साउन । बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ । आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताउनुभयो । “दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकसित गर्ने उद्देश्यले सरकारले निर्णय गरिसकेको छ । सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरिएको हो”, मुख्यमन्त्री शाहले भन्नुभयो,“बडीमालिका र रामारोशन क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।” घोषित संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन् । यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र गरी ४९८ दशमलव चार वर्गकिलोमिटर वन संरक्षण क्षेत्रमा समावेश गरिएका छन् ।
बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ । यी दुई क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेटिएसँगै वन तथा प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यावरणीय पर्यटनको विकासका लागि समेत आधार तयार हुने प्रदेश सरकारको विश्वास छ । प्रदेश सरकारले संरक्षण क्षेत्रभित्र रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्ने जनाएको छ । दुई जिल्लाका स्थानीय तहबीच संरक्षण र पर्यटन विकासमा सहकार्य बढाउनसमेत यस घोषणाले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।









