नेपालगन्ज, १४ भदौं
नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य शिविर तथा तिजको अवसरमा महिला पत्रकारहरुको लागि लेखन अभिवृद्धि कार्यक्रम गर्ने भएको छ ।
युनियन बाँकेको आइतबार बसेको कार्यसमितिको दोस्रो बैठकले पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर तथा महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लेखनवृत्ति कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अध्यक्ष कमल खत्रीको अध्यक्षतामा बसेको बैठकले युनियनका संस्थापक स्व.पन्नालाल गुप्त (चाचाजी) को जन्मजयन्तीको अवसरमा यही भाद्र २७ गते नेपालगन्जमा पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर गर्ने तथा यही भाद्र महिनाभित्र तिजको अवसरमा महिला पत्रकारहरुको लागि लेखनवृत्ति कार्यक्रम गर्ने तय गरिएकाे सचिव भिष्म लोधले जानकारी दिनुभयो ।
स्व.पन्नालाल गुप्त स्मृति प्रतिष्ठान, सेन्ट्रल सिटी हस्पिटल, नेपाल पत्रकार महासंघ बाँकेको समन्वय सहकार्यमा स्वास्थ्य शिविर गरिनेछ । रसुवामा आएकाे बाढीका कारण संगाे देश नै दुःखी भएकाे कारण हरितालिका तिजको अवसरमा गरिने अन्य कार्यक्रम नगरेर लेखनवृत्ति कार्यक्रम मात्र गर्ने निर्णय गरेकाे छ ।
यसैगरी युनियनले “युनियन संवाद” कार्यक्रम गर्ने भएको छ । समाजमा रहेका समसामायिक समस्या तथा मुद्दाका सवालमा नियमित रूपमा युनियन संवाद कार्यक्रम गर्ने भएको हो ।
………………………
युनियन सदस्यको क्षमता विकासमा अग्रजको जोड
नेपाल प्रेस युनियन बाँकेले युनियनलाई चलायमान बनाउन आवश्यक छलफल तथा परामर्शको कार्यलाई अगाडी बढाएको छ । युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले संगठनलाई निरन्तररुपमा चलायमान बनाउन आइतबार नेपालगन्जमा युनियनका पूर्व अध्यक्ष तथा अग्रजहरुसंग आवश्यक छलफल तथा सुझाव संकलन गरेको छ ।
युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको अग्रजहरुसंगको छलफल तथा परामर्श कार्यक्रममा युनियनलाई सांगठनिक रुपमा बलियो बनाएर जानुपर्ने बताए । वक्ताहरुले युनियन बाँकेले देशभरीमै शखाहरूमध्ये राम्रो काम गरिरहेको प्रशंसासंगै थप सशक्त भएर अघि बढ्नुपर्ने र त्यसका लागि कार्ययोजना बनाएर जानुपर्ने सुझाव दिए ।
युनियनमा आवद्ध पत्रकार व्यवसायिक पत्रकारितामा अग्रसर हुन जरुरी रहेको र त्यसका साथै उनीहरुलाई आवश्यक क्षमता विकास, व्यवसायिक तालिम, सामाजिक संजालको प्रयोग जस्ता विषयमा प्रशिक्षण चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ प्रदेश सदस्य निर्मल आचार्य, युनियन बाँकेका पूर्व अध्यक्षहरु प्रियास्मृति ढकाल, अर्जुन ओली, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापामगर, अग्रजहरु निरज गौतम, बिजय कुमार बर्मा, राकेश मिश्र, मोहम्मद आरिफ अन्सारी, रुपन ज्ञवालीलगायत, क्रियाशील महिला पत्रकार समूह बाँके अध्यक्ष साबित्री गिरीले युनियनलाई सशक्त बनाउन सल्लाह, सुझाव दिनुभएको थियो ।









