काठमाडौ असाेज १५ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशन आजदेखि सुरु गर्दै छ ।
देउवाले बिहीबार एक अपिल जारी गर्दै पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
देउवाले १५औँ महाधिवेशन पार्टीका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको अधिवेशनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन भूमिका खेल्ने उनले बताएका छन् ।
देउवाले देशभरका ६ हजार ७४३ वडामा विधि र प्रक्रिया पूरा गरेर अधिवेशन सुरु हुन लागेको भन्दै हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्न आग्रह गरेका हुन् ।
देउवाले पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर कांग्रेसलाई थप मजबुत बनाउने प्रणसमेत गरेका छन् । उनले भनेका छन्, ‘पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण पनि गर्दछु ।’
देउवाकाे अपिल










